भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी

पत्रपत्रिकाबाट

आइतबार, २९ पुस २०८०, ०७ : ४१
भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी

काठमाडौ । “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।” 

यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो । 

चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले सङ्खुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार २७५ वर्षअघि ललितपुरको कुम्भेश्वरबाट सङ्खुवासभाको चैनपुर पुगेको थियो ।

चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले त्यसबेला नेवार समुदायको आवश्यकतालाई मनन गरी आफ्नै परिवेशमा स्वस्थानी व्रतकथाको रचना गर्नु महत्वपूर्ण भएको बताए । उनले भने, “यो ग्रन्थलाई चैनपुरमा संरक्षण गर्दै आएका थियौँ । घर घरमा पाठ गर्ने यो धार्मिक ग्रन्थलाई सबैको पहुँचमा पु¥याउन छापेका हौँ ।”

बजारमा पाइने स्वस्थानी व्रतकथाका पुस्तकमा ३१ अध्याय भए पनि चैनपुरको ऐतिहासिक स्वस्थानी व्रतकथामा २२ अध्याय लेखिएको छ । नेपाली भाषामा लेखिएको यो व्रतकथामा बजारमा पाइने पुस्तकमा रहेका अध्यायभन्दा साना छन् । गोमा ब्राह्मणीले पुत्र नवराजलाई परदेश नजान सम्झाउँदै गरेको दृश्यलाई व्रतकथामा यसरी उल्लेख गरिएको छ, “तँ गयापछि तेरी स्त्री चन्द्रावती पनि बस्न्या छैन । माइत जान्या छ । एस अर्थले जान्छु नभन ।” भाषा अध्ययन गर्नेका लागि पनि यो पुस्तक स्रोत सामग्री बन्न सक्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस