पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको छ : प्रचण्ड

आइतबार, ०९ पुस २०७४, १३ : ०२
पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको छ : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्वद्ध बुद्धिजीवी संगठनले भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आइतबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुरा पछाडि फर्कनै नमिल्ने गरी अघि बढिसकेको उनले दाबी गरे । ‘पार्टी एकताको बाटोमा अगाडि बढेपछि पुल भत्काइएन भने पछि फर्कन पनि सकिन्छ भन्ने सोचेर पुल नै भत्काएर हामी अघि बढेका छौं’ प्रचण्डले भने, ‘नेतृत्व तहमा पार्टी एकताबाट पछि हट्ने कुरा कसैले गरेको छैन । अब छिट्टै एकता हुन्छ ।’

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रचण्डले पार्टी एकताका विषयमा एमाले अध्यक्ष ओलीसँग शनिबार बेलुकी र आइतबार बिहान पनि आफ्नो कुराकानी भएको बताए । शनिबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि मौसममा आएको खराबीका कारण उनी भैरहवाबाट काठमाडौं जान सकेका थिएनन् ।
एमाले र माओवादीलाई एक हुन नदिन विभिन्न शक्ति सक्रिय भएको उल्लेख गर्दै उनले त्यस्ता शक्तिलाई परास्त गरेर अघि बढ्ने बताए । एमाले–माओवादी केन्द्रको एकताका विषयमा केही सञ्चारमाध्यमले भ्रामक समाचार दिन थालेको दाबी प्रचण्डले गरे । 


‘यसबीचमा पार्टी एकता र गठबन्धन के हुन्छ भन्ने बारेमा भ्रामक समाचार आएका छन्, त्यस्तो भ्रामक समाचारको आधिकारिकता पुष्टि नभई प्रचार नगर्न मेरो अनुरोध छ’ प्रचण्डले भने, ‘आज बिहान र हिजो बेलुकी पार्टी एकता टुंग्याउने गरी ओलीजीसँग कुरा भएको छ ।’

‘एकतामा केही जटिलता हुन्छन्, त्यसबारे हामीले सोचिसकेका छौं’ प्रचण्डले भने, ‘तर पछि हट्ने विकल्प छैन । हामीसँग एकतामा अघि जानेमात्र विकल्प बाँकी छ । त्यसैले आत्तिनु पर्ने स्थिति छैन ।’ एमाले–माओवादी केन्द्रबीचको एकतामा फाटो पार्न केही मानिसहरु अन्तिम कसरतमा लागेको दाबी गर्दै प्रचण्डले यसलाई पनि स्वभाविक रुपमा लिनुपर्ने बताए । 

एमाले अध्यक्ष ओली र आफूबीच सरकार गठनका विषयमा समेत आइतबार बिहान फोनमा लामो कुराकानी भएको प्रचण्डले बताए । ‘राष्ट्रिय सभा निर्वाचनमा बहुमतीय प्रणालीमा जाँदा कांग्रेसको शुन्य हुने देखिएपछि कांग्रेसले एकल संक्रमणीयको कुरा ल्याएर संसोधन ग¥यो’ प्रचण्डले भने, ‘झन् हामीबीच एकता हुन थालेपछि छाड्नै हुन्न भन्ने तर्क कांग्रेसका साथीहरुले गर्न थालेका छन् ।’

प्रचण्डले कांग्रेसलाई परेको मर्काका सम्बन्धमा पनि एमाले अध्यक्ष ओलीसँग फोनमा कुराकानी भएको जानकारी दिए । ‘बहुमतीय प्रणालीमा जाँदा उहाँहरुको एउटा पनि सिट नआउने रहेछ, यस्तो हुनु राम्रो होइन भन्ने हामीलाई पनि लागेको छ’ उनले भने, ‘उहाँहरुको पनि त्यहाँ प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विषयमा हामीले कुराकानी गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस