इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, ०७ : ३०
इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक

काठमाडौ । इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापाको मृत्यु भएको छ । 

यसैगरी सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको पनि मृत्यु भएको छ । दूतावासका अनुसार कञ्चनपुरका विपीन जोशीको अवस्था अज्ञात छ । 

‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् गत महिना मात्रै उनीहरु इजरायल पुगेका थिए ।  मध्ये दक्षिणी इजरायलमा पर्ने  किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरु प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ । 

घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगी स्थानीय अस्पतालमा उपचाररत छन् भने धन बहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै विरेन्द्र चौधरी  र प्रमोद केसी सकुसल रहेका छन् । 

यसैबीच आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस