नेपाली काँग्रेसका जनप्रतिनिधिहरूले गलत गर्नुभयो : प्रमुख दाहाल

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, २० : ५५
नेपाली काँग्रेसका जनप्रतिनिधिहरूले गलत गर्नुभयो : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वार्षिक समीक्षा गोष्ठीमा सहभागी नभएर उपप्रमुखसहित नेपाली काँग्रेसका सबै जनप्रतिनिधिले गलत गरेको बताउनु भएको छ । समीक्षा बैठकमा काँग्रेसबाट विजयी जनप्रतिनिधिको अनुपस्थितिबारे सोधिएको प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो ।
आफैँले निर्धारण गरेको कार्यक्रममा आफैँ अनुपस्थित भएर उपप्रमुख पार्वती शाह ठकुरीले राजनीतिक सँस्कार विपरीतको काम गर्न पुगेको महानगर प्रमुख दाहालको भनाइ छ । उहाँले भन्नुभयो, बिहीबार पूर्वनिर्धारित कार्यक्रम थियो । कार्यापालिका बैठकको निर्णय बमोजिम उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको छलफल बमोजिम ३१ गते दिउँसो १ बजेलाई समीक्षा बैठकको मिति तय गरिएको थियो । बिहीबार बिहान करिब १० बजेतिर समीक्षा गोष्ठीमा उपप्रमुख लगायत काँग्रेसका जनप्रतिनिधिहरू सहभागी नहुने भन्ने अपुष्ट जानकारी आयो ।’
आफैंले तय गरेको कार्यक्रममा उपप्रमुख आफैं नआउने भन्ने हल्लाले आफूलाई आश्चर्यमा पारेको बताउँदै प्रमुख दाहालले भन्नुभयो, ‘लगत्तै मैले वडा अध्यक्षहरूलाई सम्पर्क गरेँ । काँग्रेस जिल्ला पार्टी सभापतिलाई सम्पर्क गरेँ । उहाँहरूले आफूहरू छलफल गरेर कार्यक्रममा सहभागी हुने बताउनु भयो । अन्य केही वडा अध्यक्षहरूलाई पनि सम्पर्क गरेँ । उहाँहरूले पनि कार्यक्रममा किन नआउने भनेर उल्टै प्रतिप्रश्न गर्नुभयो । हामी कार्यक्रम स्थलमा पुग्यौँ । केही समय कु¥यौँ पनि तर समीक्षा गोष्ठीमा नेपाली काँग्रेसका साथीहरू उपप्रमुख र वडा अध्यक्षहरूको सहभागिता देखिन । पुनः सम्पर्क गरेँ, वहाँहरूले आउँदै छौँ भन्नुभयो तर आउनु भएन । उहाँहरु यसरी गोष्ठीमा सहभागी नहुनु पर्ने कारण केही थिएन । उहाँहरु किन आउनु भएन ? म आश्चर्यमा परेकी छु ।’
‘सामाजिक सञ्जाल र मिडियाहरूमा महानगर प्रमुखको स्वेच्छाचारिता, दम्भ बढेको भन्दै उपप्रमुख र वडा अध्यक्षहरूको हवाला दिएर समाचारहरू सम्प्रेषण भएको देखेँ । यसले मलाई चकित तुल्याएको छ’ उहाँले त्यस्तो भएको भए प्रमाणित गर्न आग्रह गर्दै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘बितेको एक बर्ष हामी महानगरका सम्पूर्ण जनप्रतिनिधिहरू एउटै परिवारजस्तो भएर काम गरिरहेका थियौँ । सबै काम सामूहिक छलफलबाट गर्ने गरेका थियौँ । आजको व्यवहारले मलाई दुःख लागेको छ । यो अत्यन्तै दुःखद छ । हामी नियमित छलफल गर्छौं । बैठकमा केही भन्नु भएन । बाहिर बाहिर यस्ता अनावश्यक कुरा हुन्छ । यस्तो तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन ।’
‘केन्द्रीय राजनीतिक पार्टीका आआफ्नै ऐजेन्डा होलान् । म उपप्रमुख र वडा अध्यक्षहरूलाई पुनः आग्रह गर्न चाहन्छु, तपाइँहरू गम्भीर समीक्षा गर्नुहोस्’ प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरपालिकामा कुनै पनि दलगत राजनिति प्रवेश नगराऔँ । चार वर्ष एकढिक्का भएर विकास र समृद्धिको बाटोमा अगाडि बढ्न आग्रह गर्दछु ।’ यस्ता घटनाले कोही कसैलाई फाइदा नहुने बताउँदै उहाँले विकास केवल सहकार्यबाट मात्र सम्भव हुने दाहालले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस