पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर समूहको प्रमुखको रुसी विमान दुर्घटनामा मृत्यु

एजेन्सी

विहीबार, ०७ भदौ २०८०, १० : २३
पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर समूहको प्रमुखको रुसी विमान दुर्घटनामा मृत्यु

एजेन्सी । जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति भएको विमान दुर्घटनामा मृत्यु भएको थियो । उनी निजी सेना वाग्नर समूहका प्रमुख थिए । समाचार एजेन्सी रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यो खबर दिएको हो । दुर्घटनामा थप १० जनाको मृत्यु भएको बताइएको छ ।

जानकारी अनुसार यो दुर्घटना बुधवार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनीको नाम यात्रु सूचीमा समावेश भएको मात्रै जानकारी दिएको छ । यो एम्बरर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो ।

पुटिनविरुद्ध विद्रोह गरेका थिए

प्रिगोगिनले जुनमा पुटिनविरुद्ध विद्रोह गरेका थिए र त्यसपछि उनी कथित रूपमा बेलारुस गएका थिए । त्यसैले उनी कहिले र कसरी रुस पुगे भन्ने खुलाइएको छैन । एक रुसी अधिकारीले स्काई न्युजलाई भने, ‘हामीले दुर्घटनाको अनुसन्धान सुरु गरेका छौँ । दुई दिनअघि प्रिगोगिनको पहिलो भिडियो सार्वजनिक भएको थियो ।’

सामाजिक सञ्जालमा दुर्घटनाका केही भिडियोहरू छन्, यद्यपि यसको प्रामाणिकता पुष्टि हुन बाँकी छ ।

९ वर्ष जेल बसेपछि व्यापार

प्रिगोगिन १ जुन सन् १९६१ मा सेन्ट पिटर्सबर्गमा जन्मिएका थिए । पुटिन जस्तै येभगेनी पनि सेन्ट पिटर्सबर्गमा हुर्केका थिए । रुसी अदालतका कागजात अनुसार, येभगेनीलाई सन् १९८१ मा आक्रमण, डकैती र धोखाधडीको दोषी ठहराइएको थियो र १३ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर, सोभियत सङ्घको पतनपछि ९ वर्षपछि येभगेनी रिहा भएका थिए । जेलबाट बाहिर आएपछि येभगेनीले व्यापार गर्ने निर्णय गरे । सबैभन्दा पहिला हट डग स्टल स्थापना गर्न थाले । त्यसपछि रेस्टुरेन्ट खोले ।

पुटिन प्रिगोजिन रेस्टुरेन्टमा जान्थे

येभगेनीको रेस्टुरेन्ट चाँडै लोकप्रिय भयो । यो सेन्ट पीटर्सबर्गमा सबैभन्दा चल्तीको भोजन स्थल बन्यो । लोकप्रियताको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि पुटिन आफैँ विश्व नेताहरूसँग यो रेस्टुरेन्टमा जाने गर्थे । पुटिनले सन् २००१ मा फ्रान्सेली राष्ट्रपति ज्याक शिराक र उनकी श्रीमतीलाई र २००२ मा राष्ट्रपति जर्ज डब्लु बुशको आतिथ्यता गरेका थिए । सन् २००३ मा पुटिनले आफ्नो जन्मदिन पनि यही रेस्टुरेन्टमा मनाएका थिए ।

पुटिनको सम्पर्कमा आएपछि येभगेनीले कन्कर्ड क्याटरिङ सुरु गरे । यसपछि येभगेनीले रुसका विद्यालय र सेनालाई खुवाउन ठुला सरकारी ठेक्का लिन थाले । उनले राष्ट्रपतिको भोज आयोजना गर्ने अवसर पनि पाए । यसपछि उनलाई पुटिनको कुक वा सेफ भनिन्थ्यो । एन्टी करप्सन फाउन्डेसनका अनुसार येभगेनीले विगत पाँच वर्षमा ३.१ अर्ब डलरको सरकारी ठेक्का पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस