काठमाडौ । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा अजिङ्गर फेला परेको छ। करिब २२ केजी तौल भएको अजिङ्गर शुक्रबार त्रिशूली नदी किनारनजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुलनजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले बताए।
‘तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो’, वनअधिकृत गोपालीले भने, ‘यो संरक्षित जनावरअन्तर्गत पर्दछ।’ कच्ची सडकनजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए।
‘स्थानीयले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो’, वन अधिकृत गोपालीले भने, ‘कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो।’
उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए। उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छाड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ।
‘सोही स्थानमा छाड्ने कि चितवनमा लगेर राख्ने भन्ने निष्कर्षमा पुगिसेकका छैनौँ’, उनले भने, ‘भेटिएको अजिङ्गरको बासस्थानको क्षेत्र ठूलो रहने गरेको र फेला पारिएको क्षेत्रमा पनि यसको बासस्थान हुनसक्छ।’
वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन्। स्थानीयले पहिलोपटक त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार
उखुबारीबाट अजिङ्गरको उद्धार
खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर