८ महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक, कति खर्च कति आम्दानी ?

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १९ : १८
८ महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक, कति खर्च कति आम्दानी ?

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले गत असोजदेखि कात्तिकसम्म सञ्चालिन नवौँ राष्ट्रिय खेलकुदको यकिन विवरण प्रतियोगिता सकिएको ८ महिनापछि सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको थियो ।

उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो । ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन –२०७९ मा राष्ट्रिय खेलकुृद परिषदका कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारबाट रु ६०,१०,००००० विनियोजन भएको थियो भने आन्तरिक आम्दानी रु ५१,५२,७०० भएको थियो । जसअनुसार कूल आम्दानी रु ६०,६१,५२,७०० हुँदा सम्पूर्ण शीर्षकगत खर्च रु ५३,७९,०४,२३९/०८ भएको थियो । परिषद्ले हाल बचत रु ६,८२,४८,४६०/९२ रहेको जनाएको छ ।

प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गए पछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्वन्धित निकायहरु समक्ष अनुरोध घिसिङले बताए । रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल अषाढ पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको बुधबार जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस