८ कराेड ७० लाख रुपैयाँमा बनेकाे प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, १५ साउन २०८०, २१ : १६
८ कराेड ७० लाख रुपैयाँमा बनेकाे प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण

बुटवल । एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फण्डको अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । 

८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा निर्मित उक्त प्रदेश  जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फण्डका  वरिष्ठ पोर्टफोलियो व्यवस्थापक  स्टेफन स्टोजानोभिक र सेद द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।  

अत्याधुनिक सुविधा सम्पन्न  उक्त नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरूको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल  र विशिष्टकृत मलिक्युलर विश्लेषणसम्मका   सेवा प्रदान गरिनेछन् ।  

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चौधरीले भने, ‘यस प्रयोगशालामा उपलब्ध हुने सेवाहरूको गुणस्तर तथा विश्वसनीयता कायम गर्नु मात्र नभै लुम्बिनी प्रदेश र अन्य प्रदेशहरूमा समेतको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू परिपूर्ति गर्ने तर्फ अघि बढ्नु प्रदेश सरकार र स्थानीय सरकार लगायत हामी सबैको साझा दायित्व हो ।’ 

त्यस्तै, निर्देशक क्याम्पबेलले भनिन्, ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै, हामीले सेवा दिने र काम गर्ने समुदायहरूको लागि स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तर र सामयिक बनाई स्वास्थ्य सेवामा असमानता घटाउन हाम्रोतर्फबाट निरन्तर सहयोग रहने र नेपाल सरकारसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धतामा पुनः जोड दिन चाहन्छु ।’ 

प्रदेश  जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र  स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यस्तै  यस प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरूको  नियमन गर्न  प्रदेश र स्थानीय सरकारहरूलाई सकृयरुपमा सहयोग गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस