पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, ११ : ५४
पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

काठमाडौं।दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरालगायत ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन् ।सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए । भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिरोले सडक ठाउँ ठाउँमा अवरुद्ध  बनेको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस