चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्षमा आएका छन्, तर पर्यटक बढेको अनुपातमा राजश्व बढ्न सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छँदै वैशाखसम्म २ लाख ६३ हजार ८०६ पर्यटक आए । पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो ।
तर, पर्यटक बढ्दा निकुञ्जको राजश्व भने सोचे जस्तो बढ्न सकेन । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जले २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा १ लाख ८७ हजार १०९ पर्यटक मात्रै आउँदा निकुञ्जको राजश्व २९ करोड ४४ लाख ६६ हजार ६३९ पुगेको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा नेपाली पर्यटकसँग प्रति ब्यक्ति १५० रुपैयाँ, सार्क देशकासँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।
कोभिड महामारी पछाडि नेपाली पर्यटकको संख्या ह्वात्तै बढेको तर विदेशी र सार्क देशबाट अपेक्षाकृत पर्यटक नआउँदा त्यसको असर राजश्वमा परेको उनको भनाइ छ । ‘नेपालीहरुमा घुम्नुपर्छ, परिवारसहित नै जानुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ, तर विदेशका कतिपय देशहरूले कोराना पछाडि पनि अझै घुमघामका लागि खुला गरिनसकेको कारणले यस्तो भएको हुनसक्छ,’ सूचना अधिकारी तिवारीले भने, ‘तर यसपटक पर्यटकको संख्याले रेकर्ड तोडे पनि राजश्वमा अपेक्षाकृत भएन भन्ने छ ।’
चालु आर्थिक वर्षको २ महिना बाँकी रहँदा अझै पर्यटक र राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए । ‘२९ करोडको हाराहारीमा यसपटक पनि पुग्ने अनुमान गरेका छौं, विदेशी पर्यटक बढ्ने वित्तिकै राजश्व पनि बढ्छ,’ सूचना अधिकारी तिवारीले भने ।
चालु वर्षमा १ लाख ८७ हजार २१७ नेपाली, सार्क देशका २७ हजार ८७४ र तेस्रो मुलुकका ४८ हजार ७१५ पर्यटकले निकुञ्ज घुमेका छन् । नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६१५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिनामै ८ हजार ८८२ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।
यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आ.व. २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो ।
निकुञ्ज भित्र जिपमा मात्रै पर्यटकहरू घुम्ने गरेका छन् । निकुञ्ज भित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिपको निकुञ्जले ५ हजार शुल्क लिने गर्दछ ।चितवनमा मुख्य रुपमा निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटकहरू हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्ने पर्यटकले टिकट काट्नु पर्दछ ।
जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढी आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ जेठ २०८०, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
चितवनमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही