साफ च्याम्पियन ड्र : नेपालले समूह चरणमा भारत र कुवेतसँग खेल्ने

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १३ : ४५
साफ च्याम्पियन ड्र : नेपालले समूह चरणमा भारत र कुवेतसँग खेल्ने

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो ।जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन ।यस्तै अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको थियो ।फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागी हुने छैन । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।२०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।

प्रतिक्रिया दिनुहोस