विद्यार्थी नेताहरुले भने–नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १६ : २५
विद्यार्थी नेताहरुले भने–नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने उनीहरुले बताए ।प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले  दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचारका सबै  प्रकरणका फाइलहरु खोल्नु पर्ने बताए ।

एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको उनले बताए ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताइन् । अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताइन् । 

नेकपा(एस) निकट अनेराश्ववियूका अध्यक्ष सुदेश पाराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडी बढ्नु पर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए ।  अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको बताए ।  

प्रतिक्रिया दिनुहोस