भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न डोलप्रसाद अर्यालको माग

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १५ : ३६
भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न डोलप्रसाद अर्यालको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गरेका हुन् । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताए ।

उनले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताए । उनले भने, ‘भूटानी शरणार्थीको विषय शुरुवात मात्रै हुन् । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने छ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन । खबरदार ।

अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ति हुन्छ भनेर यही रोष्टमबाट पटक–पटक भनिएको सबैलाई याद होला । खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्न सक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् ।’उनले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठुला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिए ।