लमजुङ। स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटबल कलबहरुलाई आमन्त्रण गरिएको छ ।
यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागि हुन्छन् । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेँसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ । द्वितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटबल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो ।
त्रिवेणी युवा क्लब बेँसीशहरले प्रथम पुरस्कार ५ लाख रुपैयाँ राखेकोमा घलेगाउँमा आयोजित आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता जिल्लाको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
घलेगाउँमा आयोजना हुने आमन्त्रित फुटबल प्रतियोगितामा भाग लिने क्लबहरुको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगितामा जिल्ला बाहिरका टीममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं, गोरखा ब्वयज बुटवल र(रड्स) रामपुर चितवन छन् ।
यसैगरी, लमजुङका क्लबमा लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ ।क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशीको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, १४ : ०२
लेखकबाट थप