काठमाडौँ । दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ ।
डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दूधजन्य बस्तुमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको हो ।
संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दूधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गर्नुभयो । संघले बाहिरबाट निर्यात गरिएका दूध पाउडर पनि मापदण्ड विपरीत नरहेको दावी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरित रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ । उहाँले दुध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्षभित्र आचारसंहितानै बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दूध तथा दूधजन्य बस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दूध डेरीलाई कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०७५, १६ : ५३
लेखकबाट थप