काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताएकी छिन् । इजिप्टको शर्म अल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा दक्षिण एसियाली मुलुकहरूका वातावरणसम्बन्धी मन्त्रीहरूको आज भएको बैठकमा उनले सो कुरा बताएकी हुन् ।
बैठकका विषयवस्तुले जलवायु सङ्कटलाई सम्बोधन गर्न एकजुट भएर काम गर्ने महत्वलाई ठीकसँग झल्काउने उल्लेख गर्दै उनले ‘ग्लोबल वार्मिङ’ का कारण हिमाली क्षेत्रहरूमा विश्वका अन्य भागको तुलनामा तीव्र गतिमा प्रभावित हुँदै गएको बताइन् । उनले भनिन्, “जलवायु परिवर्तनको असरले हाम्रो वर्षाको ढाँचालाई परिवर्तन गरेको छ । पहिरो, बाढी र डुबानका चरम घटना बढेका छन् । गत वर्ष, बेमौसमी वर्षा र भारी बाढीले हाम्रो ठूला खानेपानी पूर्वाधारहरू नष्ट ग¥यो । लाखौँ डलरको कृषि बालीमा क्षति पु¥यायो ।”
यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा महिला, वृद्ध, गरिब र सीमान्तकृत आदिवासी तथा स्थानीय समुदाय रहेका बताउँदै मन्त्री रेग्मीले ती समुदाय कमजोर क्षमता र स्रोतहरूको अभावका कारण अनुकूलन गर्न समस्यामा रहेको औल्याइन् । उनले भनिन्, “बढ्दो प्रदूषणले हाम्रो वातावरणलाई गम्भीररूपमा बिगारिरहेको छ । गरिबी न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा र समावेशी विकासमा हामीले हासिल गरेको प्रगतिलाई जलवायु परिवर्तनले खतरामा पारेको छ । जलवायुसम्बन्धी हानी र नोक्सानीका कारण नेपालले हाल करिब २ प्रतिशत जिडीपी घाटा भोगिरहेको छ ।”
यो शताब्दीको अन्त्यसम्ममा उक्त क्षति ११ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । तसर्थ, कोप–२७ ले अतिकम विकसित भूपरिवेष्टित पहाडी देशहरूका लागि अनुकूलनमा वित्त वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । यो क्षेत्रमा प्रविधिको पहुँच र क्षमता निर्माणका लागि सरल तरिकाहरू पनि चाहिने उल्लेख गर्दै उनले नेपालले उच्च पहाडी देशहरूमा हुने हानी र नोक्सानीलाई सहयोग गर्न वित्तको माग पनि गरेको जानकारी गराइन् । यसका लागि नेपालले यसअघि नै आफ्नो ‘एनडिसी’ कार्यान्वयन योजना र दीर्घकालीन जलवायु वित्त रणनीति र कार्ययोजना पेश गरिसकेको छ ।
“क्षमता निर्माण, अनुकूलन र हरित, लचिलो र समावेशी विकासका लागि हामीलाई सहयोग चाहिन्छ । हामीले जलवायु वित्तमा द्रुत, प्रत्यक्ष र सजिलो पहुँचको माध्यमबाट मात्र हाम्रो लक्ष्यहरू पूरा गर्न सक्छौँ”, मन्त्री रेग्मीले भनिन् । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कडेलले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न यो मञ्च महत्वपूर्ण भएको बताउँदै यसले वातावरणका क्षेत्रमा समन्वय गर्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, २१ : ३८
लेखकबाट थप