सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध सशक्त आन्दोलन गर्ने डा. केसीको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०७५, १७ : ४१
सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध सशक्त आन्दोलन  गर्ने डा. केसीको  चेतावनी

काठमाडौँ । डाक्टर गोविन्द केसीले सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उहाँले प्रजातन्त्रविरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताउनुभएको हो ।
प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको उल्लेख गर्दै उहाँले माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गर्नुभयो । उहा“ले गैरप्रजातान्त्रिक काम हुन नदिने पनि उद्घोष गर्नुभयो ।
समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको उहा“को तर्क थियो । शिक्षा र स्वास्थ्यमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको आरोप पनि उहाँले लगाउनुभयो ।
डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस