गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ : मन्त्री कार्की

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, २० : ४५
गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ : मन्त्री कार्की

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा गर्नका लागि निर्माण भएको बताए । त्यो उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन कायम रहने उनको भनाइ थियो ।

मुलुक अधिनायकवादतर्फ उन्मुख हुने सम्भावना बढेकाले त्यसलाई रोक्न, नेपाली जनताको भावनाअनुरूप जारी भएको संविधान, लोकतन्त्र र संविधानले व्यवस्था तथा परिकल्पना गरेको व्यवस्थालाई संरक्षण गर्न गठबन्धन बनेको उनले बताए।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाबाट सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले विगतका निर्वाचनमा आफूले जनतासामु गरेको अधिकांश प्रतिबद्धता पूरा गरेको बताए । यस क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको जनगुनासो आएकाले टावर निर्माणका लागि टेण्डर आह्वान भइसकेकाले त्यो समस्या छिट्टै समाधान भएर जाने उनले बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस