विश्वकप २०१८ : 'उपाधि नजितेमा पनि मेस्सी सर्वकालीन महान्'

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०७५, ०९ : ५८
विश्वकप २०१८ : 'उपाधि नजितेमा पनि मेस्सी सर्वकालीन महान्'

आर्जेन्टिनाका फर्वार्ड लिओनेल मेस्सीलाई सर्वकालीन महान् खेलाडी मान्न उनले विश्वकप जित्न आवश्यक नरहेको भूतपूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन्। रुसमा जारी विश्वकप २०१८ को समूह चरणमा आर्जेन्टिनाले खेलेको पहिलो खेलमा ३० वर्षीय मेस्सीले आइस्ल्यान्डविरुद्ध पाएको पेनाल्टीमा गोल गर्न सकेका थिएनन्।

सो खेल १-१ गोलको बराबरीमा टुङ्गिदा आर्जेन्टिना र आइस्ल्यान्डले एक-एक अङ्क बाँडेका थिए। मेस्सीले ३२ वटा उपाधि र बार्सिलोनाबाट १४ सिजन खेल्दा पाँच 'बालन डो'र' अर्थात् सुनौलो बल पुरस्कार जितेका भए पनि विश्वकप अहिलेसम्म जित्न सकेका छैनन्। क्रेस्पोले बीबीसी स्पोर्टलाई भने, "विश्वकप नजितेका भए पनि धेरै खेलाडीहरू हाम्रो स्मृतिमा महान् भएर रहेका छन्।"

"मेस्सी गज्जबका खेलाडी हुन्। उनले खेलेको हेर्न मलाई मन पर्छ र उनी राम्रा व्यक्ति हुन्। विश्वकप जित्न उनी योग्य छन्।" तर विश्वकप जिते पनि नजिते पनि मेस्सी महान् खेलाडी नै भएको उनको तर्क छ।

"कति महान् खेलाडीले यो जितेनन्? योहान क्रफ र (मिशेल) प्लाटिनिले जितेको मलाई थाहा छैन।" विश्वकपमा मेस्सीको यो चौथो सहभागिता हो।

सन् २००६ र २०१० मा आर्जेन्टिना क्वार्टर फाइनलसम्म पुगेको थियो। सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर मेस्सीले 'गोल्डन बल' जितेका थिए।

आर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ६४ खेलमा सहभागी भएका क्रेस्पोले ३५ गोल गरेका थिए। उनीभन्दा अरू दुई खेलाडीले मात्रै बढी गोल गरेका छन्।

'दबाब'

उनका अनुसार राष्ट्रिय टोलीका लागि खेल्दा मेस्सीको प्रदर्शनलाई मैदानबाहिरका कारणले प्रभाव पारेका थिए।
"हामी उनलाई खासै सहयोग गर्दैनौँ। मैले भन्न खोजेको न प्रशिक्षकहरूले, न सङ्घहरूका अध्यक्ष आदिले।"

"उनी संसारकै अतिमहत्त्वपूर्ण खेलाडी हुन् र हामी उनलाई सघाउँदैनौँ। यो टीढलाग्दो कुरो हो। उनी राम्रो गर्न खोज्छन्। सम्भवत: त्यसैले उनी दबाबमा पर्छन्।"

बार्सिलोनामा हुँदा मेस्सीले सजिलै खेल जित्ने गरेको तर आर्जेन्टिनाका लागि त्यसो हुन नसकेको प्रसङ्ग पनि क्रेस्पोले सम्झे।

"उनी इतिहासमै सर्वोत्कृष्टमध्येका एक हुन्। तपाईँलाई फुटबल मन पर्छ भने तपाईँ मेस्सीलाई हेर्न मन पराउनुहुन्छ।"
आइस्ल्यान्डसँग खेलिएको खेलमा बराबरी भएपछि आर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्याराडोनाले प्रशिक्षक खोर्खे साम्पाओलीको आलोचना गरेका थिए।

गत वर्ष जुनमा प्रशिक्षक नियुक्त भएका साम्पाओलीले पर्याप्त समय नपाएको क्रेस्पोको तर्क छ। आर्जेन्टिनाको दोस्रो खेल क्रोएशियाविरुद्ध बिहीवार राति ११:४५ बजे हुँदैछ। -बीबीसी

 

प्रतिक्रिया दिनुहोस