नारायणगढ मुग्लिन सडकमा चार महिनामा २४ पटक पहिरो

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, ०७ : ४६
नारायणगढ मुग्लिन सडकमा चार महिनामा २४ पटक पहिरो

काठमाडौं । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुप¥यो । 

गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् ।

पृथ्वी राजमार्गको चितवन खण्डा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए। उनले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए । 

सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ ।

सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस