पुराना पत्रकार धर्मराज अर्यालको निधन, देवघाटमा गरियो अन्त्येष्टि

बुधबार, ३० जेठ २०७५, १८ : ०४
पुराना पत्रकार धर्मराज अर्यालको निधन, देवघाटमा गरियो अन्त्येष्टि

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर दस निवासी चितवनका पुराना पत्रकार धर्मराज अर्यालको निधन भएको छ । दम, मधुमेह र उच्च रक्तचापका बिरामी अर्यालको ६३ वर्षको उमेरमा बुधबार आफ्नै निवासमा मृत्यु भएको हो । पवित्र तीर्थस्थल देवघाटधाममा बुधबार नै उहाँको अन्त्येष्टि गरिएको छ ।
२०१२ साल मंसिरमा चितवनको कोराकमा जन्मनु भएका अर्यालले पत्रकारिता विषयमा स्नातकसम्मको शिक्षा हासिल गर्नु भएको थियो । २०३८ सालदेखि पत्रकारिता सुरु गर्नु भएका अर्यालले १५ वर्ष राष्ट्रिय समाचार समितिमा काम गर्नु भएको थियो । २०५४ साल पुसमा चितवन पोष्ट साप्ताहिकको सम्पादन र प्रकाशन सुरु गर्नु भएका अर्यालले २०५६ साल साउनबाट त्यसलाई दैनिक बनाउनु भएको थियो ।
पत्रकारितामा आउनुभन्दा अघि २०३६ सालमा अनुभूतिका गीत नामक कविता संग्रह प्रकाशित गर्नु भएका अर्यालका प्रकाशित अन्य कविता संग्रहमा सिर्जनाका धुनहरु (२०५६), तिम्रा मेरा बातहरु (२०६०), अन्तरमनका छालहरु (२०६९), प्रतिनिधि कविताहरु (२०७१) र तृष्णा (२०७४) रहेका छन् । उहाँका थुप्रै फुटकर कविता पत्रपत्रिकामा प्रकाशित भएका छन् । दिवंगत अर्यालका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस