नेपाल कृषि पत्रकार महासंघ बागमती प्रदेशले गर्यो कृषि पत्रकारसँग अन्तरक्रिया

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १७ : ५५
नेपाल कृषि पत्रकार महासंघ बागमती प्रदेशले गर्यो कृषि पत्रकारसँग अन्तरक्रिया

चितवन । नेपाल कृषि पत्रकार महासंघ बागमती प्रदेशले कृषि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नं २३ जगतपुरमा प्रदेशस्तरीय भेलाको आयोजना गरी ‘बागमती प्रदेशको कृषि विकासमा पत्रकारको भूमिका’ विषयक सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै वागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईले किसानका समस्यालाई मध्येनजर गर्दै किसान र सरकारबीच पुलको काम गर्ने बताए । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारलाई वास्तविक किसानले भोगेका समस्यालाई सञ्चार माध्यममा ल्याउन आग्रह गर्दै मन्त्री हुमागाईले आफु कृषिमन्त्रीको पदमा हुँदासम्म मात्र नभई जुनसुकै बेला पनि सकेसम्मको सहयोग गर्न तयार रहेको बताए ।

यसैबीच बागमती प्रदेशका क्रियाशील पत्रकारहरुको भेलाबाट कमिटी गठन गरेको छ । उक्त भेलाबाट नेपाल कृषि पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मनिष अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, प्रदेश शाखाको उपाध्यक्षमा कान्तिपुरका सिन्धुली संवाददाता रामकुमार कार्की, सचिवमा नागरिक दैनिकका मधुसुदन गुरागाई, सहसचिवमा चितवन पोष्ट दैनिकका संवाददाता रामशरण गैरे, कोषाध्यक्षमा टिभी टुडेका चितवन संवाददाता दिलीप डल्लाकोटी चयन भएका छन् । सदस्यहरुमा दोलखाबाट अविरल बस्नेत, ललितपुरबाट सुभानु आचार्य, सिन्धुपाल्चोकबाट विदुर गिरी, रामेछापबाट सुर्दशन राय, चितवनबाट कमला भुसाल र कृष्णप्रसाद खनाल चयन भएका छन् ।

सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारी, महासचिव पवन श्रेष्ठ, सचिव गोपाल आलेमगर र केन्द्रीय सदस्य गोमा पाण्डेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारीले कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापना भएको कृषि पत्रकार महांघले पेशागत अधिकार र श्रमजीवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदैं सम्बन्धित निकायसम्म पु¥याउने मुख्य उद्देश्य रहेकोे बताए ।

प्रतिक्रिया दिनुहोस