काठमाडौं । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन ।पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ ।
बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ ।
गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो ।
पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनःअपराह्न ४ बजेका लागि तय गरिएको थियो । अपराह्न ४ बजे पुनःबैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफल र मतदान जारी रहेकाले शीर्ष नेतालगायत स्थायी समितिका सदस्य व्यस्त भएको भन्दै अन्तिम अवस्थामा बैठक आज बिहान बस्ने गरी स्थगन भएको थियो ।
शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गरे।
“आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो”, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, “भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ ।”
पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ । “विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन”, नेता महराले भने “पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररुपमा छलफल भएको छ । अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा