सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १२ : ०५
सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

काठमाडौँ । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको हो । 

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताए । यसबाट सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी परेका छन् ।

सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योग वाणिज्य संघका सदस्य कुमार घिमिरेले बताए । सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो । अहिले सिसी क्यामेरा बिग्रेकाले काम गर्न छाडेपछि बजार क्षेत्रका पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य संघका संस्थापक अध्यक्ष रत्न श्रेष्ठले बताए । 

बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा दुई वर्षदेखि बिग्रिएर मर्मत नभएपछि गाईघाट बजारमा पसल फुटाउने, चोरी हुने घटना दैनिकजसो हुने गरेको भए पनि प्रहरीले पनि पत्ता लगाउन नसकेको पसल सञ्चालक चन्दन साहले बताए ।जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र त्रियुगा नगरपालिकाको सक्रियतामा गाईघाट बजारको मुख्य चोक र बोक्से क्षेत्रका चोकमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरीको कन्ट्रोल कक्षमा सिसी क्यामेरा कनेक्सन गरेपछि केही समयअघि यता आएर आपराधिक घटनामा कमी आएको हो । अहिले बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए । 

छ वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म गाईघाट बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुनेजस्ता आपराधिक कार्यमा कमी आएको थियो । अहिले एक महिनामै पाँच पटकभन्दा बढी पसल फुटाउने र चोरी हुने, मापसे गरेर रातिको समयमा बजारमा हिँडडुल गर्ने र समूहगत झगडासमेत हुँदै आएको पाइएको छ  ।त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले पुराना क्यामेरा फेरेर नयाँ राख्न या मर्मत गरेर प्रयोगमा ल्याउन नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस