ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ११ : २५
ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान

काठमाडौँ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले शुक्रवार उडान भरेको हो । 

जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब तालिका अनुसार सातामा सोमवार, बुधवार र शुक्रवार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिवार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरे पनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । लामो समय अवरुद्ध भएको उडान शुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस