बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितकै लागि : प्रशिक्षक हुमागाईं

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, २१ : ३९
बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितकै लागि : प्रशिक्षक हुमागाईं

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितका लागि नै खेल्ने बताएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक हुमागाइले राष्ट्रिय टोलीको जिम्मा पाउनु आफ्नो लागि महत्वपुर्ण कुरा भएको बताए ।

नेपाली मूलका अमेरिकी नागरिक हुमागाईले कर्मभूमि छाडेर जन्मभूमिमा जित्ने लक्ष्यका साथ आएको दाबी गरे । यसअघि क्लब र एकेडेमीको टोलीलाई सम्हालेका हुमागाइले यो आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।

प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईंले अलमुताइरीसँगको विवादमा क्याम्प छाडेका ११ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका छन् । उनले अलमुताइरी र खेलाडीबीचको कुरा आफुले सञ्चारमाध्यमबाट नै थाहा पाएकाले यो विषयमा भने केही नबोल्ने बताए । बंगलादेशसगको मैत्रीपुर्ण खेलका लागि आफुहरुसँग छोटो समय रहेकाले छिटोभन्दा छिटो टोली घटाउने उनले बताए ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा रहेका कारण एन्फाले हुमागाइलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो । कतार फुटबल संघको सहयोगमा नेपाल आएका अलमुताइरीको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन । कुवेतमा भएको एसियन कप छनोट खेलपछि अलमुताइरी तिन महिनाको बिदामा बसेको बताएको छ । राष्ट्रिय टोलीको औपचारिक प्रशिक्षण भोलिदेखि आर्मीको मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस