नेप्से परिसूचक २७.७२ अंकले बढ्‍यो, २ अर्ब ५ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १६ : ०३
नेप्से परिसूचक २७.७२ अंकले बढ्‍यो, २ अर्ब ५ करोडको कारोबार

काठमाडौँ । बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९  अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो । 

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीबार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

त्यस्तै, हिमालयन हाइड्रोपावर र बलेफी हाइड्रोपावर सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर, यता सपोर्ट माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीले  १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस