कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका माग सम्बोधन नगरेको भन्दै प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : ४८
कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका माग सम्बोधन नगरेको भन्दै प्रदर्शन

काठमाडौँ । घाइते तथा अपांग सुरक्षाकर्मी संघका अध्यक्ष हीरामनी अधिकारीले सशस्त्र द्वन्द्वबाट प्रभावित सहिद परिवार र अपांग घाइतेहरूलाई सम्मान नदिएको बताएका छन् । 

काठमाडौंमा पूर्वसुरक्षाकर्मी परिषद नेपाल, घाइते तथा अपांग सुरक्षाकर्मी संघ, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघ, एकल महिला तथा घाइते परिवार समूह, अमर प्रहरी एकल महिला संघ र सशस्त्र प्रहरीसँग आवद्ध संघको संयुक्त आयोजनामा सरकारले बनाउन लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

‘सहिद परिवार र अपांग घाइतेलाई सम्मान दिएन, हामीलाई विभेद गरेर अपराधी घोषण गर्ने एउटा सशस्त्र र निःसशस्त्र परिभाषा नहेरी पीडक बनायो हामी पीडक होइन हामी राज्यले जनताको सुरक्षाको लागी लडेका हौं’ उनले भने ।

कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि  कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको र राहत रकम पाउन नसकेको बताएका छन्  । राज्यले विधेयकलाई छलफल गरेर संशोधन गरेर लाने कुरामा द्वन्द्वपीडित परिवारलाई सूचना पनि राम्रोसँग नदिएको र राज्य पक्ष, गैरराज्य पक्षबाट बेपत्ता पारिएका, मारिएका, शारीरिक तथा मानसिक हिंसा तथा दुर्व्यवहार सहेका दशबर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित नागरिकको समस्या आजका दिनसम्म पनि जस्ताको तस्तै रहेको उनको भनाइ छ । 

दशबर्षे सशस्त्र द्वन्द्वको अवधिमा नागरिकलाई उनीहरूकै स्थानीय गाउँघरबाट बेपत्ता बनाउने वा अपहरण गर्ने गरिन्थ्यो त्यसैले, सशस्त्र द्वन्द्वको अवधिमा स्थानीय गाउँघरबाट असंख्य सर्वसाधारण मानिस अन्यत्र विस्थापित हुनुपरेको पीडित परिवार बताउँछन् ।

सशस्त्र द्वन्द्वका अवधिमा भएका संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै घटना तथा पक्षलाई समेटेर बेपत्ता तथा विस्थापित हुने सबै व्यक्तिको एकीन तथ्यांक तथा भौतिक अवस्था पत्ता लगाउन अधिकार सम्पन्न नागरिक आयोगको गठन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस