हराएको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा तीन जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : ३९
हराएको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरुषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी उनीहरूले २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले सोही नागरिकताको आधारमा सेन्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गर्दै आएका थिए । 

उनीहरूमध्ये प्रदीप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस