नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ विद्युत्‌ उपभोक्ता कालोसूचीमा

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १२ : ०२
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ विद्युत्‌ उपभोक्ता कालोसूचीमा

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।

उनीहरूबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार ६ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक १ अर्ब ९४  करोड ८१ लाख ८३ हजार महसुल उठेको छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने १ हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरूमध्ये एक हजार ५४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र १ सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट ४ करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस