काठमाडौं । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले आगामी पाँच वर्षभित्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने दावी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरुले संविधान बनाउँदानै फरक मत राखेको स्मरण गराउँदै भने, ‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दा पनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपाभित्र यसले कुनै आकार लिएको छैन् ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त प्रचण्ड बन्न तयार हुनुभयो अरे नि त भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार हो ।’ उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् । सभामुख र उपसभामुख फरक–फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको बताउँदै भने, ‘यो विषयमा कानूनविद्हरुसँग छलफल गर्छौं, नयाँ परिस्थितिअनुसार प्रतिपक्षसँग पनि छलफल नयाँ सहमतिका साथ अघि बढ्छौं ।’
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आकस्मिक रुपमा पार्टी एकता भएकोले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपूर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकोले संविधानको मर्मअनुसार नै हामी अघि बढेका थियौं, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौं, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्छौं ।’
प्रतिक्रिया दिनुहोस