डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो, आजै काठमाडौं फर्काइने

शनिबार, २६ जेठ २०७५, १३ : ५८
डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो, आजै काठमाडौं फर्काइने

काठमाडौं l काठमाडौंको बाँसबारीस्थित  न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।  डा. देवकोटाकै इच्छाअनुसार हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।

डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार गोरखा लगेर केहीबेरमै फकाइने डा. तारा अधिकारीले जानकारी दिनुभयो । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।

स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ न्यूरो सर्जन देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।

अस्पताल तथा देवकोटा परिवारले प्रा. डा. देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । शुक्रबार बेलुकीदेखि डा. देवकोटाबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ । पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न जानु भएको थियो । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उहाँ नेपाल फर्कनु भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस