सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न सक्दैनौं : मन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १९ : ४९
सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न सक्दैनौं : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्ने बताए । मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए । उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एशियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको बताए ।

मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मवारी रहेको भन्दै जिम्मेवारीबाट कोही पनि पछि हट्न नहुने बताए । उनले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैँ तत्पर रहेको जिकिर गरे । मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा बिस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिए ।

उनले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गरे । मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु, धार्मिक क्षेत्रहरु, विद्यालय र अस्पतालहरुमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गरे ।

उनेल भने, ‘अब नेपाल टेलिकम छिटै ईसिम कार्डमा जाँदैछ । हामीले सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न सक्दैनौं । मन्त्रालयले कर्णाली र तराईका ८ जिल्लालाई विषेश प्राथमिकता दिनुपर्छ भन्दै मन्त्रालयले त्यही अनुसार सञ्चार क्षेत्रमा काम गरिरहेको छ । एशियामा नै सूचना र सञ्चारको क्षेत्रमा हामी कमजोर छैनौं । तर, सन्तोष लिनुपर्ने ठाउँ छैन र असन्तोष गर्नुपर्ने ठाउँ पनि छैन । हामीले जिम्मेवारी पन्छाएर मात्रै उम्कन पाउँदैनौं । जिम्मेवारी पूरा गर्नुपर्छ ।’

उनले थपे, ‘अहिले जुन फ्री वाइफाई छ । त्यसलाई चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा छौं । अहिलेसम्म अघिल्लो नीति तथा कार्यक्रम अन्तर्गत मन्त्रालय चलेको थियो । अब नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्छ ।’

सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए । उनले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभएपनि कार्यान्वयनको समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस