काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र प्रदेश नं ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिस प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा हार व्यहोरे तापनि प्रदेश ५ सेमिफाइनलमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनायो । उसका लागि शंकर रानाले ४४, सोरभ खनालले ४२ ,राजवीर सिंहले २१, सन्दीप सुनारले २० तथा कृष्ण कार्कीले २६ रन जोडे । बलिङतर्फ पुलिसका ललित राजवंशीले २ विकेट लिए ।
दुई सय एक रनको लक्ष्य पाएको पुलिसले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पुलिसको जीतमा दीपेन्द्रसिंह ऐरीले अविजित ५८ रनको योगदान दिए भने आरिफ शेखले अविजित ४५ रन जोडे । त्यस्तै शुरुआती ब्याट्सम्यान सुनिल धमला र अमित श्रेष्ठले क्रमशः ३६ र ३० रन जोडे भने दिलीप नाथले २४ रन बनाए ।
बलिङतर्फ प्रदेश ५ का सन्दीपले २ तथा लाल अधिकारीले १ विकेट लिए । दीपेन्द्रसिंह खेलको ‘म्याच अफ द म्याच’ घोषित भए । प्रतियोगितामा समूह ‘ए’ बाट आर्मी र एपिएफ क्रमशः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा यसअघि नै पुगिसकेका छन् । शुक्रबारदेखि शुरु हुने सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘बी’को उपविजेता प्रदेश ५ सँग तथा समूह ‘ए’ को उपविजेता एपिएफले समूह ‘बी’को विजेता नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछन् ।(रासस)
प्रतिक्रिया दिनुहोस