स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छ : मन्त्री कार्की

रासस

बुधबार, ११ साउन २०७९, १२ : ३०
स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन ।

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताएका हुन । उनले सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता रहेको बताए ।

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवर्द्धन गर्न प्रतिवद्ध रहेको बताए। उनले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताए।

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताए। उनले स्वस्थ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस