काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र र प्रदेशमा गरी करिब डेढ लाख जति कोभिसिल्ड खोप खेर गएको हुनसक्ने बताए।
उनका अनुसार धेरै खोप प्रदेश र जिल्ला सहित स्थानीय तहमा रहेको हुँदा ठ्याक्कै कति खोप खेर गयो भन्न नसकिए पनि करिब डेढ लाख मात्रा जति खोप खेर गयो कि भन्ने अनुमान गरिएको उनले बताए। ‘धेरै खोप प्रदेश र जिल्लाहरूमा गएको र हालसम्म कति खोप खेर गयो भन्ने यकिन विवरण आइसकेको छैन तर अहिलेसम्मको हाम्रो अनुमानमा डेढ लाख मात्रा जति खेरा गयो कि भन्ने छ। सबै ठाउँको विवरण आएपछि यो संख्या बढ्न पनि सक्छ, अझै घट्न पनि सक्छ’‚ उनले भने।
उनका अनुसार गत बिहीबार बिहानसम्मको विवरणमा हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, प्रदेश १ मा ११ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ ८० जति रहेकोमा पछिल्लो समय कति खोप लगाइयो र कति खेर गयो भन्ने विवरण अझै नआएको बताए। ‘शनिवार बेलुकीसम्म नलगाइएको खोप खेर जाने अवस्थामा थियो, हामी अहिले सबै ठाउँमा कति खोप खेर गयो भनेर विवरण संकलन गर्दै छौँ’‚ उनले भने।
कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जाने अवस्थामा थियो। स्वास्थ्य मन्त्रालयले खोप खेर नजाओस् भनेर यस बीचमा बुस्टर डोज खोप अभियान समेत चलाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १४ : ५८
लेखकबाट थप