भरतपुर महानगरको प्राथमिकतामा सडक

वडावासीले चाहेजस्तो योजना ल्याउनुहोस् : दाहाल

मंगलबार, २२ जेठ २०७५, १५ : २३
वडावासीले चाहेजस्तो योजना ल्याउनुहोस् : दाहाल

चितवन । भरतपुर महानगरपालिकाले दोस्रो नगर सभाको लागि वडास्तरीय योजना छनोटको काम सुरु गरेको छ । चितवनको भरतपुरमा मंगलबार दोस्रो नगर सभाको लागि योजना छनौट सम्बन्धी चार नम्बर वडा भेलाको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले सडक बिस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।
वडा भेलाकी प्रमुख अतिथि दाहालले भरतपुर महानगरपालिकाले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ वडा भेलाहरू आयोजना गरेको जानकारी गराउनु भयो । उहाँले वडाका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सामाजिक विकास लगायतका प्रभावकारी योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो ।
महानगरले विकासको पहिलो आधारको रूपमा सडक पूर्वाधार र सडक सञ्जाललाई लिएको भन्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा साना ठूला गरी १ सय ५० वटा सडक बिस्तार गरी कालोपत्रे  सम्पन्न गरिने बताउनु भयो । उहॉले महानगरको योजना अनुसार गौरवको आयोजनाको रूपमा भवन तथा शहरी विकास कार्यालयमार्फत महानगरको टेन्डर प्रकृया अन्तिम अवस्थामा रहेको र चालु आर्थिक वर्षभित्रै शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने बताउनु भयो । महानगरले सिटी हल, बहुतले ब्यावसायिक भवन निर्माणको प्रकृयालाई अगाडि बढाइरहेको उहाँले बताउनु भयो ।


गएको १ वर्ष महानगरपालिकाले सुशासन कायम राख्दै दीर्घकलीन रणनीति निर्माण गर्नमा केन्द्रित रहेको भन्दै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षमा महानगरका गौरवपूर्ण आयोजनाहरू काम देखिने गरी अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालु खर्चभन्दा पूँजीगत खर्च बढी राखेर अगाडि बढिरहेको जानकारी दिँदै उहाँले यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताउनु भयो ।
महानगर प्रमुख दाहालले वडास्तरीय योजना छनोट गर्दा टालटुले नभई रणनैतिक महत्वका योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो । उहाँले आगामी नगर परिषदबाट महानगरीय गौरवका योजनालाई पर्याप्त बजेट बिनियोजन गरी बॉकी बजेट वडास्तर र अन्य क्षेत्रलाई बिनियोजन गर्ने बताउँदै वडाहरूले पनि वडाका गौरवपूर्ण योजनाहरू वडा भेलाबाट छनोट गरी सिफारिस गर्न आग्रह गर्नुभयो । प्रमुख दाहालले महानगरपालिका महानगरवासीहरूको इच्छा र आवश्यकता अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै वडा कार्यालय र महानगरपालिकाले गरिरहेका विकास निर्माण र अन्य सेवा प्रवाहको निगरानी र खबरदारी जारी राख्न महानगरवासीलाई आग्रह गर्नुभयो l


वडा अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न वडा भेला उद्घाटन समारोहमा जिल्ला विका समिति चितवनका पूर्वसभापति विष्णु घिमिरे, राजनीतिक दलका प्रतिनिधि, टोलसुधार समितिका पदाधिकारी लगायतले आआफ्ना योजनाहरू पेस गरेका थिए । वडा भेलाका सहभागीहरूले दिगो पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, फोहोरमैला ब्यवस्थापन र सामाजिक सुरक्षाका क्षेत्रहरूलाई प्राथमिकतामा राखी नगर र वडास्तरीय बजेट ब्यवस्था गर्न माग गरेका थिए ।
भरतपुर महानगरपालिकाले असारको १५ गतेसम्म नगर परिषद सम्पन्न गरिसक्ने गरी मंगलबारदेखि दोस्रो नगर परिषदको तयारी सुरू गरेको छ । नगर परिषदको तयारी अन्तर्गत जेठ २२ गतेदेखि २७ गतेसम्म वडा भेला सम्पन्न गर्नेछ । वडा भेलाहरुबाट परिमार्जित भई आएका योजनालाई समेटी असार १५ गतेसम्म नगर परिषद सम्पन्न गर्ने लक्ष्य राखिएको महानगर प्रमुख दाहालले बताउनु भयो । मंगलबार वडा नम्बर ४, १ र ३ का भेलाहरू सम्पन्न भएका छन् । ४ नम्बर वडा भेलालाई प्रमुख रेनु दाहाल, १३ नम्बर वडा भेलामा उपप्रमुख पार्वती शाह र वडा नम्बर १ को भेलालाई प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस