अर्थविद्हरुद्वारा बजेटको अालाेचना

विहीबार, १७ जेठ २०७५, १४ : २४
अर्थविद्हरुद्वारा बजेटको अालाेचना

काठमाडौं । अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् । अर्थविद्हरु दिपेन्द्रबहादुर क्षेत्री, पृथ्वीराज लिगलर  डा. जगदिशचन्द्र पोखरेलले सरकारले लक्ष्य अनुसार बजेट ल्याउन नसकेको बताएका हुन् ।

बिहिबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् क्षेत्रीले पाँच वर्ष भित्र दोहोरो अंगले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको दावी गरे । उनले आर्थिक वृद्धिलाई ८ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पनि बजेटले पूरा गर्नेमा आफू विश्वस्त नभएको पनि बताए । अर्थविद् क्षेत्रीले आर्थिक वृद्धिदरलाई बढाउन सरकारले वार्षिक रुपमा १७ खर्ब कम्तिमा खर्च गर्नुपर्ने तर्क पनि गरे ।

अर्थविद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले घोषणा गरिएका कार्यक्रमलाई धान्ने गरी बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले गरिवी निवारण र रोजगारीको अवसर सृजनाका लागि एकीकृत कार्यक्रम ल्याउनु भने बजेटको सकारात्मक पाटो रहेको पनि स्पष्ट पारे ।

अर्का अर्थविद् एवम् राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले बजेट प्रजातान्त्रिक मूल्य, मान्यता अनुसार नआएको दावी गरे । उनले युवाहरुलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढने कामलाई पनि बजेटले प्राथमिकता नदिएको उल्लेख गरे । अर्थविद् पोखरेलले प्रविधि विकासबाट मुलुकलाई समृद्ध बनाउने दिशामा पनि बजेटले खासै चासो नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस