नेपग्याज्म लाइभ इभेन्टले कन्दरा ब्यान्डको व्यवस्थापन गर्ने

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १४ : ३८
नेपग्याज्म लाइभ इभेन्टले कन्दरा ब्यान्डको व्यवस्थापन गर्ने

काठमाडाैँ। लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यायसायिक सम्झौता भएको छ।

दुवैबीच असार ७ गते सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो।सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई)ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए।

‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौँ। संगीत पूर्णरूपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौँ’, गायक श्रेष्ठले भने, ‘नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो।’विवेकका अनुसार एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्यान्डका अन्य सदस्य खुलेर गीत/संगीतमा लाग्न पाउने छन्।

उनले भने, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौँ।’उनका अनुसार यही वर्ष ब्याण्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरूको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ।

यी सबै कामको व्यवस्थापकीय जिम्मेवारी ‘एनएलई’ले हेर्ने उनले बताए।कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने तयारी भइरहेको हो।

यी गीतहरूको म्युजिक भिडियाे निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्ष एनएलईले हेर्ने छ। यसमा बजार प्रवर्द्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउने छ।नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै ‘कन्दरा ब्याण्ड’बाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए।

सन् नब्बेको दशकमा उदाएको कन्दराका लेककी हे माया, चन्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीत चर्चित छन्।

लोकलयमा आधारित मेलोडियस गीतहरू रच्नु कन्दराको विशेषता हो। गीतहरू चर्चित भएर पनि अडियोको समयको ब्याण्ड भएकोले डिजिटल प्लाटफर्ममा कन्दराको उपस्थिति अझै बलियो बनाउनु पर्ने खाँचो टड्कारो थियो।

गीत सुन्ने जमानाको कन्दरालाई अब गीत हेर्ने जमानामा पनि रुचाइने गरी प्रस्तुत गरिने एनएलईका संस्थापकहरूको दाबी छ।

सन् १९९४ देखि सक्रिय कन्दरा ब्याण्डले हालसम्म पाँचवटा एल्बम सार्वजनिक गरिसकेको छ। छैटौँ एल्बममा आइपुगेपछि भए पनि ब्याण्ड व्यवस्थापन के कसरी गर्ने भन्ने कुराको टुंगो लाग्नुलाई कन्दराका गायक विवेक श्रेष्ठ ठूलै उपलब्धि मान्छन्।

उनले भने, ‘समय र परिस्थितिअनुसार कन्दराले नयाँ प्रयोग गर्दै आएको छ। कन्दरा र एनएलईको सहकार्य पनि यस्तै प्रयोग हो। हामी सिक्दै अघि बढ्ने छौँ। आगामी दिनमा पनि हाम्रो प्राथमिकता स्तरीय र मिठा गीत संगीत प्रस्तुत गर्नु नै हुने छ।’

प्रतिक्रिया दिनुहोस