काठमाडौँ । सरकारले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले असार ९ गतेदेखि यो उमेर समूहका बालबालिकालाई खोप लगाउने जानकारी दिए । बाँकेमा यो उमेर समूहका ७६ हजार २ सय ३९ जना रहेका छन् ।५ देखि ११ वर्षका बालबालिकालाई विद्यालय मै गएर खोप लगाउने रणनीति बनाइएको छ । ‘हामी विद्यालयमै गएर खोप लगाउँछौं, फोकलपर्सन श्रेष्ठले भने, विद्यालय लक्षित यो कार्यक्रममा महिला स्वयं सेविकालाई अनिवार्य गरिएको छ ।’
जिल्लामा १२ देखि १७ वर्ष उमेरका ११ प्रतिशतले खोप लगाइसकेका छन् । समग्रमा बाँकेमा ८४ प्रतिशत मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । अझै १६ प्रतिशत मानिसले पहिलो मात्रा लगाइसकेका छैनन् ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले ७१.६ प्रतिशतले दोस्रो मात्रा र १८.२२ प्रतिशतले बुष्टर डोज लगाएको जानकारी दिए ।
बाँकेको जनसंख्या ५ लाख ६८ हजार रहेको छ । जिल्लामा खोप लगाउने कार्य निरन्तर चलिरहेको छ । भारतबाट फर्केका नेपालीलाई नाकामै खोप लगाउने गरिएको छ । २०७७ माघदेखि बाँकेमा खोप लगाउन शुरु गरिएको हो । कोरोनाको पहिलो र दोस्रो चरणमा बाँके हटस्पट बनेको थियो ।
भारतबाट नेपाल आएका ८५ हजारलाई नाकामा कोरोना जाँच गरिएको थियो । त्यसमा एक हजार तीन सय २ जनालाई कोरोना देखियो ।त्यसमा २० जनामात्रै लक्षण देखिएका थिए । नाकामा अहिले पनि कोरोना जाँच र खोप लगाउने काम चलिरहेको छ ।
जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जेठ महिनामा ८ सय ५० जनाको जाँचगर्दा नौ जना र असारमा तीन सय जनाको जाँचगर्दा आठ जनालाई कोरोना पुष्टि भएको जानकारी दिए । नेपाल गञ्जनाकामा भारतबाट आएका व्यक्तिलाई मलेरिया र टीबीको पनि जाँच गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ११ : ००
लेखकबाट थप