विराटनगर । सरकारको निर्देशन अवज्ञा गर्दै प्रदेश नम्बर एकको राजधानी विराटनगरमा संस्थागत विद्यालयहरू खुलेका छन् । सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने नियम यही हप्ताबाट कार्यान्वयन गरेको हो । तर, सरकारको निर्णय कार्यान्वयन नहुँदै संस्थागत विद्यालय खुलेका हुन् । विराटनगरसहित मोरङमा सामुदायिक विद्यालयहरू भने बन्द भएका छन् ।
संस्थागत विद्यालय महासंघ (प्याब्सन)ं की मोरङ अध्यक्ष शितला सुब्बाले अहिले भर्खरै नयाँ शैक्षिक सत्र शुरु भई विद्यालयमा भर्ना अभियान जारी रहेकोले पनि विद्यालयहरू खुलेको बताइन् । “अहिले विद्यार्थी भर्नाको समय हो त्यसैले पनि धेरै विद्यालय खुलेका हुन्,” सुब्बाले भनिन्, “सरकारले दिएको निर्देशन पालना नगर्ने भन्ने कुरा हुँदैन तर शैक्षिक क्षेत्रको विषयमा पूर्ण तयारी र योजना भने बनाइनुपर्छ ।”विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडा बर्खे बिदा कटाएर पाठ्यक्रमअनुसार पढाउँदा पनि कोर्स पूरा नहुने अवस्था देखिएको बताउँछन् । ११ र १२ मा त अझ धेरै समस्या आउन सक्ने बताउँदै उनले भने,“ पाठ्यभार मिलाउन सकिँदैन ।
पाठ्यक्रम विकास केन्द्रले मिलाउनुपर्छ । के गर्ने भनेर प्रष्ट योजना नभई विद्यालयमा बिदा मिलान गर्न कठिन देखिएको छ ।” औपचारिक रूपमा विद्यालय पढाइ सञ्चालन गर्नु वा नगर्नु भनेर महानगर शिक्षा महाशाखाले नभएको उनले बताए । तर, पाठ्यभार पूरा हुँदैन भनेर पाठ्यक्रम विकास केन्द्रलाई लेखेर पठाउने तयारी गरेको उनले सुनाए ।
“अहिलेको पाठ्यक्रमअनुसार पाठ्यभार कसरी पूरा हुन्छ भन्ने प्रस्ट नभई बिदा दिन सक्ने अवस्था छैन,” खतिवडाले भने, “अहिलेको विषयहरू राखेर पढाइ पूरा हुने अवस्था छैन । नहोला भन्ने नै देखिएको छ । बर्खे बिदा कटाउँदा पनि समस्या हुने देखिएको विद्यालयका सञ्चालकहरूको गुनासो छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १२ : ११
लेखकबाट थप