विश्व गधा दिवस मनाइँदै

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, ११ : ३२
विश्व गधा दिवस मनाइँदै

काठमाडौ । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन शुरूआत गरेका छन् ।

गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन शुरू गरिएको हो ।

अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताए  । उनका  अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । 

भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस