महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १४ : ४९
महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

काठमाडौं । चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार)समाप्त हुँदै छन् । दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ । 

हालसम्म २४ खेल पुरा हुँदा एक सय १० गोल भएका छन् । लिगको सयौँ गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् । मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औँ मिनेटमा गोल गर्दै जारी लिगको सतक गोल गरेकी हुन् । 

यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन । लिगको ५०औँ गोल एपीएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५०औँ गोल गरेकी थिइन् । 

जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपीएफकै सावित्रा भण्डारी (साम्बा) रहेकी छिन् । उनले पाँच खेलमा १३ गोल गरेकी छिन् । जसमा तीन ह्याट्रिक रहेको छ । चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् । 

उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मिकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः एकदेखि पाँचौ स्थानमा छन् । 

तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छिन् । जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ । 

तेस्रो स्थानमा रहेको आर्मीको समान ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौँथो स्थानमा रहँदा धनगढी पाँचौँ स्थानमा छ । चन्द्रपुर छैँटौँ स्थानमा रहँदा ललितपुर सातौँ र वालिङ विनाअंक पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस