प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

शुक्रबार, २१ बैशाख २०७५, १७ : १६
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताउनु भएको छ । विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताउनुभयो । कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिनुभयो ।
दश कठ्ठा जमिनमा भित्र रु दुई करोड ८६ लाख ५२ हजार १६६को लागतमा निर्मित अपाङ्ग र सूचना प्रविधिमैत्री उक्त दुई तल्ले भवन निर्माण गरिएको हो । कोषले यस क्षेत्रका ८० हजार कर्मचारीलाई सेवा प्रदान गरिरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस