म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै, स्वास्थ्यमा गम्भीर खेलबाड

पत्रपत्रिकाबाट

शनिबार, १६ असोज २०७८, ०७ : ०६
म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै, स्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।

केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ ।

विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्यबराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाखबराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउसमेत गरिएको विभागले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस