जनाति देखेकी देशकै जेठी आमा

पत्रपत्रिकाबाट

शुक्रबार, १५ असोज २०७८, ०८ : १२
जनाति देखेकी देशकै जेठी आमा

नुवाकोट । मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, बाटुली लामिछाने। उनी १ सय १९ वर्षकी भइन्। पहिचान भएमध्ये जेठी आमा हुन्। एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र एक जनाति छन्। उनी विश्वकै ज्येष्ठ नागरिक भएको भन्दै विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ। 

उनले विसं १९९९ मा छोरा नेत्रप्रसादलाई जन्म दिइन्। त्यही वर्ष परदेश जाने भनेर श्रीमान् छविलाल लामिछाने घरबाट हिँडे। आजसम्म उनको अत्तोपत्तो छैन। छोराछोरी, नातिनातिनाको माया र सहारामा बाटुलीले जीवनका महŒवपूर्ण क्षण बिताइन्। परिवारकै सहारामा बाँकी जीवन पनि सुखसँग बित्ने उनी बताउँछिन्। 

‘म जन्मेकै वर्ष बुवा परदेश जान्छु भनेर हिँड्नुभएको रहेछ’, नेत्रप्रसादले भने, ‘हामीले निकै खोज्यौं। तर, अझै पत्तो लागेको छैन।’ ढल्किँदो उमेरले बाटुली आमालाई सुन्न र बोल्नमा केही कठिनाइ हुँदै गएको छ। आफूसँग बोल्न खोज्ने नयाँ मान्छेलाई ‘नमस्कार’ फर्काउँछिन्। विभिन्न संघसंस्था र सरकारी निकायका प्रतिनिधि सम्मान गर्न घरमा आइरहन्छन्। परिवारका सदस्यको सहारामा दोहोरो संवाद गर्ने गर्छिन्।

नुवाकोटको ककनी निवासी बाटुली आमा केही दिनदेखि बिरामी रहेको नेत्रप्रसादले बताए। ज्वरो, रुघाखोकीका कारण उनलाई खान र बोल्न पनि अप्ठ्यारो भइरहेको छ। उनलाई दही, दूध, फलफूल मन पर्छ। पनाति श्याम ढुंगानाले परिवारका सबै सदस्य मिलेर बाटुली आमाको स्याहारसुहार गर्ने गरेको बताए।  

सदरमुकाम विदुरबाट ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–८ थानसिङ छापथोकमा बाटुली आमा बस्छिन्। विभिन्न सरकारी निकायले आमालाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। उनको सम्मानमा सरकारले घर बनाइदिएको छ। राष्ट्रिय सम्मानसहित नगद तथा जिन्सी उपहार दिइएको थियो। 

बाटुलीको जन्म १९५९ चैत १० गते सिन्धुपाल्चोकको साबिक बाँसबारी गाविस–१ गिरानचौरमा भएको थियो। उनकी आमा देवीकुमारी र पिता जयनारायण तिवारी हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा बागमती प्रदेश सरकारबाट पुरस्कार तथा सम्मान गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस