संसद चल्न नदिनु नाजायज हो : मन्त्री भुसाल

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १५ : ०६
संसद चल्न नदिनु नाजायज हो : मन्त्री भुसाल

तनहुँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेले सभामुखसँग आक्रोशित भएर संसद् चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादीका सांसदलाई कारबाही गर्न नमिल्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले कानुन र अधिकार प्रयोग गरेको उनले दाबी गरिन् ।

मंगलबार तनहुँ आएकी मन्त्री भुसालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै माधव नेपाल, प्रचण्ड र देउवाप्रतिको आक्रोश सभामुखलाई पोखेको उनको आरोप छ । ‘बेतुकको गैरराजनीतिक आरोप(प्रत्यारोपमा लागेर प्रतिगमनकारी सोचले आफ्नै पार्टी सिध्याउने, कम्युनिस्ट पार्टी सिध्याउने काम भइरहेका छ । यो ढंगले आफ्नो पराजय पतनको अभिव्यक्ति सभामुखमाथि दिइरहेका छन् । र, आफैँलाई नंग्याएका छन्’, उनले भनिन् । वार्ता, संवादको प्रक्रिया सभामुखले अपनाउँदा एमाले उपस्थित नभएको भुसालको भनाइ थियो । 

उनले अब निर्वाचन केन्द्रित गतिविधिमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिइन् । ‘अबको ६÷७ महिनामा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी लाग्नुहोला,’ उनले भनिन् । अबको निर्वाचनमा गठबन्धन नै मिलेर होमिन सक्ने उनले संकेत गरिन् । एउटै पार्टीको बहुमत नआउने भएकाले निर्वाचनपछि पनि गठबन्धन सरकार बन्ने उनले दाबी गरिन् । तर, आफ्नै संगठनलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ । 

प्रतिक्रिया दिनुहोस