एमसिसी प्रतिनिधिमण्डल र ओलीबीच वार्ता, केके भयो कुराकानी ?

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १४ : ५८
एमसिसी प्रतिनिधिमण्डल र ओलीबीच वार्ता, केके भयो कुराकानी ?

काठमाडौँ । एमसिसी प्रतिनिधिमण्डल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको हो।

महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता थालेको हो। सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका छन्। 

दुई पक्षबीच एमसीसी पास गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ । एमाले पछिल्लो समय एमसीसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो। ओली र एमसिसी प्रतिनिधिबीच एमसिसी कसरी पास गर्ने भन्ने विषयमा कुराकानी भएको बताइएको छ । 

बिहीबार बिहान काठमाडौं आएको यो टोलीले सबैभन्दा पहिला ओलीसँग भेटघाट गरेको थियो । ओलीपछि अन्य राजनीतिक भेट गर्ने कार्यक्रम तय भएको छ। ओलीसँगको भेटघाटमा एमालेका नेताहरु विष्णु रिमाल, सूर्य थापालगायतको उपस्थिति थियो । 
 

प्रतिक्रिया दिनुहोस