२८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १९ : ०७
२८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

चितवन । सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।

सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ । ढकाललाई सैनिक अदालतले सोही हतियार प्रयोग गरी आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा कसुरदारसमेत ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस