एसएमजी चोरीको झुटो अभियोगमा जेल जीवन काटिरहेका दुई सैनिक निर्दोष ठहर

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १६ : ३५
एसएमजी चोरीको झुटो अभियोगमा जेल जीवन काटिरहेका दुई सैनिक निर्दोष ठहर

काठमाडौं । एसएमजी चोरीको झुटो अभियोगमा जेल जीवन काटिरहेका दुई सैनिक निर्दोष ठहर भएका छन् । सैनिक विशेष अदालतले सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिक अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष ठहर भएका हुन् । उनीहरुलाई तत्काल रिहा गर्न सैनिक विशेष अदालतले आदेश दिएको छ। 

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। सैनिक विशेष अदालतको आदेशअनुसारको पत्र चितवन जिल्ला कारागारमा पठाउने तयारी भइरहेको सैनिक मुख्यालयले जानकारी दिएको छ। मुख्यालयबाट पठाइएको पत्र प्राप्त भएपछि चितवन कारागारले उनीहरूलाई रिहा गर्नेछ। 

हतियार चोरीको मुद्दामा सैनिक समरी जनरल अदालतले कैद सजाय सुनाएका सरोज तामाङ र लबकुमार गुरुङलाई रिहा गर्न आदेश भएको छ‘ सैनिकद्वय तामाङ र गुरुङका पक्षबाट सैनिक विशेष अदालतमा बहस गरेका अधिवक्ता सोमनाथ ढुंगानाले भने, ‘अब फैसलासहितको पत्र सैनिक मुख्यालयले चितवन जिल्ला कारागारमा पठाउँछ। अनि उनीहरू रिहा हुन्छन्। 

बिहीबार भएको फैसला शुक्रबार सुनाइएको हो। सैनिकद्वयबाट हतियार चोरीको आरोपमा कसुर नपुग्ने भन्दै गरिएको फैसलामा उनीहरूले हतियारको सुरक्षा गर्न नसकेकोसमेत ठहर गरिएको छ। उक्त आरोपमा उनीहरूलाई तीन वर्ष बढुवा रोक्का गर्ने समेत आदेश दिइएको छ। 

लबकुमार र सरोजले चोरेको भनिएको हतियार नै साउन ७ गते चितवनमा भएको सैनिक भरत गुरुङको हत्यामा संलग्न सिपाही गंगाधर ढकालको साथबाट बरामद भएपछि साढे दुई वर्षदेखि जेलमा रहेका सैनिकद्वय गुरुङ र तामाङ निर्दोष ठहर भएका हुन्।  उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको छ । 

प्रतिक्रिया दिनुहोस